काठमाडौँ — काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत सुनदरीजल क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा एक जना स्कुले बालकको मृत्यु भएको छ। विद्यालय जाँदै गरेका बेला ती बालकलाई एक टिपरले ठक्कर दिएको हो।

प्रहरीका अनुसार मृतक बालक पलक हुन्। उनी बिहान नियमित रूपमा विद्यालय जाँदै गर्दा सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको टिपरले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा तत्काल नजिकको अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि पीडित परिवार शोकमा डुबेको छ भने स्थानीय क्षेत्रमा गहिरो दुःखको वातावरण छाएको छ।

दुर्घटनाको खबर फैलिन घटनास्थलमा स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीहरूको ठूलो भीड जम्मा भएको थियो। केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको कारण तीव्र गति र सवारी चालकको लापरवाही हुनसक्ने आशंका गरिएको छ।

स्थानीय वासीहरू ले विद्यालय जाने–आउने समयमा भारी सवारी साधन सञ्चालनमा रोक लगाउन तथा सडक सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्। यस घटनाले गोकर्णेश्वर नगरपालिकामा सवारी सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रहरीका अनुसार विद्यालय आसपासका क्षेत्रमा ट्राफिक निगरानी र सवारी सुरक्षा प्रति कडाइ का साथ लागू गरिने छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *